नीँद नलागेर हैरान हुने मान्छेहरुले निदाउनका लागि निद्रा लाग्ने औषधि खान्छन् । यो खाएपछि लट्ठ पार्छ र निदाइन्छ । सुत्ने बेलामा निँद नलाग्ने समस्या भएमा औषधि खानु ठिकै हो । तर ठाउँ न कुठाउँ निदाउने औषधि खाँदा कहिलेकाहीँ बित्यासै पर्न सक्छ । यस्तै भएको छ पाकिस्तानमा एक महिलालाई । पाकिस्तानको लाहोरबाट फ्रान्सको पेरिसका लागि उडेकी एक महिला विमानभित्रै यतिधेरै निदाइन् की उनी पेरिसमा ओर्लिन बिर्सिइन् र जहाजमै फेरी पाकिस्तान फर्किइन् ।
जहाज चढ्ने बेलामा निद्रा लाग्ने औषधि सेवन गरेकी प्याटि्रस क्रिस्टिन अहमत नामकी ती महिला पाकिस्तान इन्टरनेशनल एयरलाइन्स को उडान संख्या पिआइए ७३३३ मार्फत लाहोरबाट इटालीको मिलान हुँदै पेरिस उडेकी थिइन् । विमान मिलानमा केहीबेर रोकियो र त्यहाँबाट पेरिस पुग्यो । पेरिसमा सबै यात्रु झरे । तर ती महिला निद्रामै थिइन् त्यसकारण त्यहाँ ओर्लिनपर्ने होस उनमा आएन । पेरिसको चाल्र्स डी गाल एयरपोर्टमा उक्त विमान दुइ घण्टा सम्म रोकियो । त्यतिबेला सम्म पनि ती महिलाको होस आएन । विमानमा पाकिस्तान आउने यात्रु चढे र विमान दुइ घण्टापछि पाकिस्तानका लागि उड्यो । विमान पाकिस्तान फर्किनका लागि उडेको केही समयपछि मात्र ती महिलाले आफु निदाएका कारण पेरिस ओर्लिन नपाएको र फेरी पाकिस्तान फर्किन लागेको थाहा पाइन् । अब पश्चाताप मानेर हुने कुरा केही थिएन । गाडी भएको भए जहाँ थाहा पायो त्यहीँ रोक्न मिल्थ्यो, तर जहाज त्यसरी रोक्न मिल्ने कुरो भएन । त्यसैले ती महिलाको लागि आफ्नो नीँद तथा निदाउने गोलीलाई सराप्नुको विकल्प थिएन ।